८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बरिष्ठ नेता पौडेलको कृषि क्रान्ति र आत्तिएका कृषिमन्त्री


0
Shares

-लाओस राई

आधुनिकीकरण, उदारीकारण र भूमण्डलीकरण २१ औं शताब्दीको ब्यवस्थित र लोकप्रिय नीति हो । सन् १९५० देखि विकसित यो राजनीति औजार सबैभन्दा उत्तम र उपयुक्त अभियान ठान्छन् पूँजीवादीहरु । तर साम्यवादीहरु यसको घोर बिरोध गर्दछन् । बिरोध र समर्थनले  सँधै राजनीतिलाई तरंगित पारिरहन्छ ।  बिशेषगरि उत्पादन र वितरणसंग जोडिएको विश्व राजनीतिको तर्क बितर्कहरुलाई केलाउंदै जाने हो भने त्यस भित्रको कथाहरु धेरै छन् । बृहत कथातिर नगई विश्व थर्कमान पर्ने कोरोना भाइरस (कोविड १९)को महामारीले सिर्जना गरेको संकटबाट भविष्यमा आउनसक्ने भोकमरीको अवस्थाको  बारेमा नेपाल सरकारका वर्तामान कृषि मन्त्रिको डरलाग्दो भविष्यबाणी (बिदेशमा भएका ६० लाख मान्छे फर्किए भने ठुलो समस्या हुन्छ)र नेपाली कांग्रेसका वरिष्ठ नेता रामाचन्द्र पौडेलले चलाएको कृषि क्रान्तिको अनिवार्यता भन्ने विषमा मात्र केन्द्रित हुनु आवश्यक छ ।

नेता पौडेलको कृषि क्रान्तिको मुद्दा एकदम राम्रो हो, र छ । साथै प्रजातान्त्रिक समाजबादी सोचहरु पनि उतिकै शसक्त र बलियो छ नेपालका लागि । जस्तैः ‘कर्मशील कांग्रेस’ ‘निमुखालाई न्याय विपन्नलाई आय’,नारा आफैंमा सान्दर्भिक छ । क्रान्तिले भरिपूर्ण यो नारा कांग्रेस सरकारमा हुँदा त्यति चर्चामा आएन जसरी आउनु पर्ने थियो । त्यसलाई दुखद घटनाको रुपमा लिनुपर्दछ । त्यसकारण ति क्रान्तिकारी नाराहरु मेरो बाजे(हजुरबुबा)ले सुनाएको ‘सुकुली-बुकुली’को दन्तेकथा जस्तै सुन्दा सबैथोक हो जस्तो लाग्ने तर वास्तविकता त्यस्तो नहुने जस्तो देखियो । क्रान्तिको कुरा चर्चामा आउँदा मलाई एउटा घटनाको सम्झना आयो । सोही घटनालाई उल्लेख गर्दै कृषि क्रान्तिको प्रसङ्गलाई पछी जोडौंला । म पनि क्रान्ति भनेपछि आकर्षित भईहाल्ले मान्छे त्यसमा पनि कृषि भनेपछी त कुरै भएन । जीवन जिउनु छ भने अन्न त अनिवार्य छ । आहारको सम्बन्धमा ऋगवेदमा लेखिएको छ–‘जस्तो खानपान,उस्तै बल–बुद्धी ।’

वास्तवमा के हो त देशको यथार्थ ? भन्ने सन्दर्भमा सम्भावना अध्यन गर्दै जाँदा पुराना मित्र बिरेन्द्र महर्जनसंग भेट भयो । उ ललितपुरको खोकनामा ब्यवसायिक कृषिकर्ममा व्यस्त रहेछन । उनीसँग कृषिका बारेमा लामो कुराकानी भयो । १८ वर्षको मिहेनत र कठिन कृषि यात्रा उसले बेलीविस्तर सुनाए । उनको निरन्तरता र लगनशीलता देखेर मैंले उनलाई सोधें–के राज्य तपाइँसंग हातेमालो गर्दै छ ? उनले भने–राज्यको हात पाएको भए राम्रो हुनेथियो नि । उत्पादन बढाउनु सकिन्थ्यो, उत्पादन प्रबिधिमैत्री बनाउनु सकिन्थ्यो । धेरै कुरामा सहज हुन्थ्यो । खै राज्य कहाँ छ, पत्तै भएन ?

खेती भनेपछि हुरुक्कै हुने साथीको नराम्रो अवस्था सुनेपछि कृषि कर्जाको बारेमा सुनाए । त्यति भनेपछि उनी नजिकैको बैंकमा गएछन् । ‘कृषिमा कर्जा पाउनु सकिएन जग्गा प्लटिङ गर्नेहरुले बैंक ‘क्याप्चर’ गर्दा रहेछन् । म जस्तो कृषि गर्नेको केहि लागेन । ‘बिचौलिया पुज्नु पर्ने, कर्मचारीको गुलाम गर्नुपर्ने’ भोगाई सुनाए । उसको कुरा सुन्दा लाग्थ्यो कि उ नाजी सेनाले बेलायती सेनासंग आत्मसमर्पण गरेजस्तै । मैंंले पनि उनले भनेपछि मात्र थाहा पाएँ कृषि भित्रको महाभारत । तिनै महाभारतको कथाजस्तै कृषि कथा किन उल्लेख गरेको भने जुन समय कांग्रेस सत्तामा हुन्थ्यो त्यसबेला कृषि क्रान्तिको कुरै आउंदैन । जब सत्ता आउट क्रान्ति प्रवेश । फेरी कृषि क्रन्ति भनेको खेतमा आगो दन्काएर हुने कुरा हो र ? खेतमा प्रशिक्षण कार्यक्रमा गरेर हुने कुरा हो र ? खेतमा बम पड्काएर हुने कुरा हो र ? यो त सत्ताले माटोको उर्बरा शक्ति बढाएर हुने कुरा हो । सत्ताले उन्नत बिउ बिजन र मलको बिकास गर्ने हो । बास्तविक किसानलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउने हो । उर्बर भुमिमा डोजर र कंक्रिट आतंक रोक्नु हो । कृषि औजार, मल, उन्नत बिउदेखि आधुनिक यन्त्रहरु सबै मुलुक निर्भर हुनुपर्ने अवस्था भएको बेला कसरि क्रान्ति गर्ने ? यो सबैभन्दा ठुलो प्रश्न हो । उर्बरभुमिमा कहीं  घर उम्रिएको छन् त कतै जंगलमा परिणत भइसकेका छन् ।

यी कारणहरुले गर्दा भन्न सकिन्छ रामचन्द्र पौडेलको कृषि क्रान्ति र बिरेन्द्र महर्जनको कृषि उत्पादन अभियान दुबैको बाधक तत्व भनेको एउटै हो । त्यो भनेको उदारीकरण, शहरीकरण हो । दलाल पुँजीपतिहरुको संगठित उपस्थिति हो । प्रष्ट भन्नुपर्दा उत्पादन योग्य जमिनमाथि राज्य र भूमाफियाहरुको संयुक्त नाङ्गो आतंक हो । त्यसैले ति कुराहरुको अन्त्य नगरी कृषि क्रान्ति गर्छु भन्नु भनेको किसानलाई भीरमा लगेर ढाडमा लात्ताले हान्नु जस्तै हो ।

अर्को कुरा कृषिमन्त्री घनश्याम भुसालको भयानक भोकमरीको सम्भावनको भविष्यबाणी कुरा सुन्दा मेरो गाउँमा अनिकालको बेला बिरसिंह किराँती बाजेले गरेको प्रयासको अम्झना आयो । त्यही प्रसगलाई उल्लेख गर्दै भोकमरीको बारेमा पछि चर्चा गरौंला । म कुरा बुझ्ने भई सकेको थिए । त्यो वर्ष वर्षाको कारणले गर्दा मकै कोदो त्यति सारै उत्पादन भएन । एक वर्ष खान आवश्यक हुन्थ्यो । आकासे पानीको भरमा धान उत्पादन  हुन्थ्यो लामै खडेरी धान हुने कुरै भएन । सबै गाउँलेको अन्न मङ्सिर नबित्दै सकिन थाल्यो । अनिकाल सुरु भईहाल्यो । अनिकालले पुरै गाउँमा संकट उत्पन्न भयो । मान्छेहरु हेर्दाहेर्दै  घाममा कर्कलो लत्रेको जस्तै लत्रन थाले खान नपाएर । गाउँमा भएका युवहरु पनि अनिकालले मरिन्छ भन्ने पिरले झोक्र्याइरहेका थिए । साच्चै अवस्था जटिल नै थियो । तर ७६ वर्षको हिम्मतिलो  बिरसिंह किराँत बाजेले गाउँका सबै युवालाई भेला गर्दै दुःख र संकटको बेला साहस र हिम्मतले काम गर्नुपर्छ । निरास हुनुहुन्न भन्दै सम्झाए- युवाले आँटे जे पनि सम्भव छ । ढुंगामा बृक्ष फलाउन सक्छ । आजैदेखि कुलो खन्न जुटौं । एक महिनामा सकिन्छ । पानी भएपछी अन्न उत्पादन भै हाल्छ । चैत्र महिनासम्म बाली पाक्छ पनि । बाजेको कुरा सुनेपछि एक जनाले युवाले भने–‘आज के खाने भन्ने चिन्ता छ चैतको कुरा गर्नु हुन्छ ?’ भन्दै धेरै दुख ब्यक्त गरे । उसको कुरा सकिन नपाउँदै अर्को युवाले थपे–गाउँमा भएको बचेको अन्न एकै ठाउँमा जम्मा गर्ने सामुहिक भान्छा चलाउने र कुलोको काम गर्ने भै हाल्यो नि । त्यसैमा अर्का युवाले थपे– यस्तै गरे भने राम्रो हुन्छ हामी सबै गाउँले भोकमरीबाट बाँच्न पनि सकिन्छ कुलो पनि बन्दछ । सामुहिक भान्छा र  काम दुवै सुरु भयो । कुलो पनि बन्यो । संकट पनि टर्यो  ।

मन्त्रि भुषालको डरलाग्दो भोकमरीको सम्भावना भन्दापनि ठुलो भोकमरी त मैंले बाल्यकालमा भोगेर आइसकेको हुँदा अब आउने संकट पनि त्यसरी नै समाधान गर्न सकिन्छ भन्ने लाग्छ । जसरी हामीले हाम्रो गाउँमा गरेका थियौं । मन्त्री भुसाललाई हेक्का हुनु पर्ने हो । ति बिदेशिएका पौरखीहरुले खाने मुख मात्र लिएर आउंदैनन्  । पौरखी हात र सिप पनि संगै लिएर आउछन्  । तिनीहरुले पौरख गर्ने थलो  सरकारले ब्यबस्था गरिदिनु पर्यो ।

जिम्मेवार मन्त्री नै आत्तिएर भबिष्यबाणी सुनाउनु पद कै बदनाम गर्नु हो । मन्त्री पद भनेको भबिष्यबाणी गरेर भय फैलाउने हो कि संकट समाधान गर्ने हो ? संकट समाधान गर्न सक्दैन भने मन्त्रीक कुनै औचित्य के ? ति आउन लागेका ६०/७० लाख युवाहरुले भोकमरी ल्याउने हो र ? भोकमरी त सरकारले निम्त्याउदै छ । जनतालाई घर ल्याउन नसकेर संकट सरकारले निर्माण गरेको हो  । पहिले कसले बेचेको हो ति युवाहरुलाई ? युवा बेचिनुपर्ने समस्या सरकारले निर्माण गरेक हो । समाधान पनि सरकारले नै गर्नुपर्छ । नेता रामचन्द्र पौडेलले भनेको कृषि कान्ति र बिरेन्द्र महर्जनको कृषि उत्पादनमा लगाउन पर्यो । कृषि मन्त्रीले बुझ्नु पर्यो । त्यसो गर्दा अन्नको उत्पादन २० औं गुणा बृद्धि हुने र राष्ट्रिय उत्पादन र पूँजी निर्माण हुन जाँदा एक वर्षमा अन्नको निर्यात गर्ने  देश बन्न सक्छौं ।  ढिलो भएपनि नेताहरु चिन्ता गरेको देखियो । बल्ल पुग्यो उट पाहाड को मुनि  ।