१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल हङकङसँग ७ विकेटले पराजित


156
Shares

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो । उसका लागि मरिको हिलले ४५, नताशा माइल्सले नटआउट २८ र चन का यिङ क्यारीले १७ रन बनाइन् ।

नेपालकी संगीता राईले दुई विकेट लिँदा सीता राना मगरले एक विकेट हात पारिन् ।

त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनायो ।

नेपालका लागि अविजित रहँदै कप्तान रुबिना क्षेत्री र अप्सरी बगेमले क्रमशः ३२ र २२ रन बनाए । बिन्दु रावलले २३, सीता राना मगरले ९ रन, ममता चौधरले ७, कविता जोशीले ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा शून्य रनमा आउट भए ।

हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १/१ विकेट लिए ।

च्याम्पियनसिप अन्तर्गत नेपालले यस अघि भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।