
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पुँजीबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजीबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो ।
पुँजीबजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरूको लगानी जोखिममा परेको भन्दै उहाँले पुँजीबजारको पुर्नउत्थान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरूलाई पुनरावलोकन गरेर भए पनि पुँजीबजारको जोखिम हटाउनुपर्ने बताउनुभयो ।
प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरूले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफूलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने बताउनुभयो । उहाँले लगानीकर्ताको सुरक्षा राज्यले गर्नुपर्ने बताउनुभयो ।
भट्टराईले पुँजीबजार सुधारको माग राखी अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै कोइरालाको माग सम्बोधन गर्न पनि सरकारसँग माग गर्नुभयो ।
उहाँले बेला–बेलामा नेताहरूले पुँजीबजारलाई नोक्सान हुनेगरी अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै नेताहरूलाई आफ्नो अभिव्यक्ति सच्याउन पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्