१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा महानगरमा बजेट प्रस्तुत गर्न दिने एमाले सहमति


299
Shares

काठमाडौं । नेकपा (एमाले)ले पोखरा महानगरपालिकको बजेट प्रस्तुत गर्न दिन सहमत भएको छ ।

बजेट पुस्तिका च्यातेर नगरसभा अवरुद्ध गरेको एमालेका नगर सदस्यहरूले मेयर धनराज आचार्यसँगको छलफलपछि बजेट प्रस्तुत गर्न दिन सहमत भएका हुन् ।

नगरसभाबाट बजेट पारित हुनुअघि नै बजेटको रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेले विरोध जनाएपछि नगरसभा अवरुद्ध भएको थियो ।

साढे ४ बजे सुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताब च्यात्दै पारित हुनुअघि नै रातो किताबमा बजेट छापेकोमा आपत्ति जनाउनुभएको थियो ।

त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनुभयो । उहाँले रातो किताब किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, महानगरका मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र बजेटको अन्तिम रातो किताव नभएको भन्दै सभामा जवाफ दिनुभयो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै सभामा नाराबाजी गरेका थिए । उनीहरूले रातो किताब छापेको विषयमा मेयरको जवाफबाट चित्त नबुझेको भन्दै महानगरको सभा गृहबाहिर नाराबाजी गरेका थिए ।

पोखरा महानगरले करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्दैछ ।