
-नारायणप्रसाद भण्डारी
वर्तमान सरकार गठन भएको दुई वर्षभन्दा बढी अवधि भइसकेको छ । यस बीचमा कैयौं गल्ती, कमजोरीहरु भेटिए, अनेकौं अपरिपक्व कदम चालियो । कुसंस्कारमा हुर्केको राजनीतिक अभ्यास, नेतृत्वको कमजोरी, साधन, स्रोत र प्रविधिको अपर्याप्तता, कानुनी त्रुटि तथा नीतिगत अस्पष्टता, अटेर र भ्रष्ट कर्मचारीतन्त्र, फितलो राजनीतिक तथा प्रशासनिक संयन्त्रलगायतका कारण अपेक्षित उपलब्धि हात पर्न सकेनन् । चरम नागरिक अपेक्षा, अभूतपूर्व अवसर र विशाल चुनौतीका बीच गठन भएको सरकारले अपेक्षित उपलब्धि दिन सकेन । यद्यपि निराशाजनक स्थिति भने बनिसकेको छैन । विगतदेखि नै खापाखाप रहेका बेथितिका चाङ् उधिन्ने केही प्रयास पनि भए । गुम्सिएर बसेका कैयौं कर्तुतहरु पर्दाफास भए । तथापि त्यसका सम्पूर्ण यथार्थहरु अझै रहस्यको गर्भभित्रै छन् । कतिपय कसरमसर अझै बाँकी नै छन् । तर जति सकारात्मक काम भए त्यसलाई नजरअन्दाज भने गरिनुहुन्न ।
विगतका सरकारको तुलनामा राम्रै परिणाम दिए पनि कतिपय प्रकरणमा भने चित्तबुझ्दो प्रस्तुति देखिएन । भ्रष्टाचारीका जरा काट्ने अठोटमा लम्केको सरकारको पाइलो धर्मराएको जस्तो देखियो । मन्त्रीहरूले समेत अनुचित लाभको तमासा देखाएपछि सरकारमाथिको विश्वसनीयता ऋणात्मक बन्न लागेको हो । यति हुँदाहुँदै पनि समग्र उपलब्धि भने निराशाजनक छैन । आफ्ना व्यक्तिगत आकांक्षा र स्वार्थको भरणपोषण गर्ने स्वार्थधारी जमात भने पार्टीभित्रै सल्बलाएको देखियो । सरकार सफल बन्दा आफूहरुको अस्तित्व निष्तेजमा पर्ने र भविष्य समेत अनिश्चयमा पर्ने घटिया सोँच प्रकट भए । सरकार सञ्चालकको असफलतामा मात्र आफूहरुको अवसर आउने ठहर गरी त्यसविरुद्ध गुप्त र तुच्छ चलखेल थालियो ।
स्थिर सरकारको आश्वासन भट्याएर बटुलेको मतमाथि मजाक गर्ने खेल सुरु हुन थालेको छ। पार्टीभित्रकै अनेक गिरोहहरु सरकार गिँडाउने खुँडा उध्याउन उद्यत छन् । इतिहासले असफल सिद्ध गरिसकेको अस्थिर सरकारको अभ्यासलाई पुनरावृत्ति गर्ने कुचेष्टा सत्तारूढ दलबाटै हुनु निन्दनीय छ । यो मतदातामाथिको धोकाबाजी मात्र होइन मुलुककै भविष्यप्रतिको कुठाराघात पनि हो । संविधान र स्थापित प्रणालीविरुद्धको घोर अपमान हो । मुलुक नयाँ अध्याय र शासन प्रणालीमा प्रस्थान गरेकाले अहिलेका संस्कार र प्रवृत्ति आगामी दिनमा समेत नजिर बन्ने पक्का छ । सरकार बनाउने, भत्काउने,लडाउने अस्वस्थ खेलमा मुलुकले लामो यात्रा गुजारिसकेको छ । नयाँ स्थापित शासन पद्धतिमा समेत उनै विकृत शैली, सोँच, प्रवृत्तिलाई भित्र्याउने हो भने इतिहासको पुनरागमन नहोला भन्न सकिन्न । इतिहासको पुनरागमन आफैँमा अत्यन्तै निर्मम र दुर्भाग्यपूर्ण अवस्था हो ।
अत्यावश्यक परिस्थितिबाहेक एउटै नेतृत्वले पूरा कार्यकाल निरन्तरता पाउँदा मुलुकले निश्चित दिशाबोध गर्न सक्छ, विकासको लय समात्न सक्छ । जसको नेतृत्वमा पार्टीले जनसमर्थन पाएको हो उसलाई निर्धक्कसँग सरकार चलाउने परिस्थिति बनाइदिनुपर्छ । मुलुकका समस्या र चुनौतीसँग लड्नुपर्ने प्रधानमन्त्री आफ्नै पार्टीभित्रकासँग सङ्घर्ष गरिरहेका छन् । सरकारका कमी, कमजोरी ओ.ल्याइदिने, सहयोग गर्ने तथा रचनात्मक सुझाव दिने अभिभारा बिर्सेर सरकार भत्काउन मोर्चाबन्दी गर्नु कुनै मानेमा शोभनीय छैन ।
विश्वव्यापी महामारीको चपेटामा संसारभर सन्नाटा देखिएको परिस्थितिमा नेपाली राजनीतिले देखाएको अनावश्यक प्रतिक्रियाले वैश्विक बेइज्जती र आम जनतामा निराशा ल्याइदियो । कुर्सीमोह र सत्ताभोकको छट्पटी यतिसम्म चर्को हुन्छ भन्ने अनुमान सायदैले गरेका होलान् । नेपाली राजनीतिले देखिएका भद्दा प्रस्तुतिमध्येको यो अर्को शृङ्खला हो । प्रधानमन्त्री ओली दुईओटा विवादास्पद विधेयक ल्याएर निकै बद्नाम भए र त्यसबाट पछाडि समेत हटे । अहिलेसम्म उद्घाटित रहस्य अनुसार तत्कालीन समाजवादी पार्टी फोडेर केही सांसद ल्याउने र पार्टीभित्रको लडाइँमा विजयोन्मुख हुने ओलीको उद्देश्य थियोे । तर अहिले सो उद्देश्य खण्डित भइसकेको छ । सही मनसायले काम गर्दागर्दै पनि अकारण आफूविरुद्ध घेराबन्दी भइरहेको ठानेर उनले विधेयक ल्याएको भए पनि त्यो चौतर्फी विरोधको चङ्गुलमा पर्यो । त्यसबाट प्राप्त जश, अपजस, नोक्सानी उनकै टाउकोमा पोखिएको छ ।
विधेयक प्रकरणमा प्रधानमन्त्री ओलीको दृश्य पर्दामा जति अशोभित र विकृत देखियो । त्योभन्दा झन् विकृत र अश्लील खेल पर्दापछाडि ओलीविरुद्ध चलेको थियोे । देश महामारीको सङ्कटसँग जुधिरहेका बेला पार्टीभित्रका केही हिस्सा सरकार गिराउने योजनाको अनुष्ठानमा तल्लीन थियोे । ओलीले सन्निकट सत्ता सङ्कट पन्छाउन गरेको विवादित पर्यत्नको कारण पनि यहीँ अवैध मोर्चाबन्दीको विरुद्धमा थियोे ।
सङ्कटसँग जुधिरहेको असामयिक परिस्थितिमा झन्डै दुईतिहाई मतसहितको पार्टीको प्रधानमन्त्रीले असुरक्षित महसुस गर्नुपर्ने परिस्थिति किन बन्छ ? राजनीति किन र कसका लागि गरिन्छ ? राजनीति भनेको सधैंभरि स्वार्थ र षड्यन्त्रको खेलोफर्को मात्र हो ? अङ्कगणितको समीकरण मात्रै हो कि औचित्य र आवश्यक्ताको पनि खेल हो ?
पार्टीभित्रै यस्ता प्रवृत्तिले जरा विस्तार गरिरहे मुलुकको प्रधानमन्त्रीको मनोविज्ञान कस्तो हुन्छ । आफै रक्षात्मक अवस्थामा रहेर मुलुकका समस्या समाधान गर्ने कि ? पार्टीभित्रै गुटबन्दी बनाएर ठेलमठेल गरिरहने ? देश र जनताको नाममा राजनीति गरेकोे दाबी गर्नेहरुले कुसमयमा मच्चाएको सरकार बिथोल्ने ताण्डव कम्ती घिनलाग्दो थिएन । एकातिर भित्रभित्रै अस्थिरताको बीजारोपण गर्ने, अर्कापट्टि नैतिकताका पाठ सिकाउनेसम्मका हर्कत समेत गर्न भ्याए । चितारोहण गर्ने बेलासम्म पनि सत्तारोहणकै लागि शक्तिजुक्ति लगाउने प्रवृत्ति परिवर्तनीय छ । राजनीतिलाई आफ्नो राखेर शक्ति, पद र पैसाको अधिपति बन्ने ध्याउन्नमा मात्र बरालिएको प्रस्टिएको छ । यसको अर्थ सबै पात्र बेइमानी, कपटी र धूर्त भन्न खोजिएको होइन, आम प्रवृत्तिको चित्र मात्र प्रस्तुत गरेको हो । राजनीतिलाई सधैं व्यक्तिगत स्वार्थको चङ्गुलमै घुमाइरहने कि मुलुकलाई निकास दिन सघाउ पुर्याउने ?
हो प्रधानमन्त्रीको व्यवहार, आचरण तथा कार्यशैलीप्रति प्रश्न उठाउनुपर्छ, खबरदारी गर्नुपर्छ, जवाफदेही बनाउनुपर्छ, सहयोग गर्नुपर्छ, सुझाव दिनुपर्छ । कमी कमजोरी सुधार गर्न लगाउनुपर्छ । नेतृत्वले पनि जायज विषयमाथि सुधार गर्नुपर्छ । अति आवश्यक परेमा साथै मुलुक र जनताले समेत महसुस गरेमा अविश्वासको प्रस्ताव समेत ल्याउनुपर्छ । अहिले सत्तामा आउन लामबद्ध भएका पात्रहरुमध्ये छनोट गर्नुपर्दा पनि ओली अरुभन्दा कम खराबमा पर्दछन् ।
एउटै व्यक्ति कुर्सीमा टाँसिइरहनुपर्छ भनेको होइन । तर आफ्ना स्वार्थभरण र पदहरणका निम्ति गरिने बेफ्वाँकका बखेडाले सुशासन, लोकतान्त्रिक मूल्यमान्यता र मर्ममा प्रहार मात्र गर्दैन मुलुकलाई समेत बर्बादीतर्फ लैजान्छ । यो सवाल सरकारमा अहिले कुन पात्र छ भन्नेमा होइन बरु यस्ता प्रवृत्तिले हामीलाई कहाँ धकेल्छ भन्नेचाहिँ हो । सरकार गिराउने रोगको संक्रमण अहिले सुरु भयो भने त्यसको फैलावट बढेपछि कालान्तरमा निभाउनै गाह्रो पर्छ । सामान्य अवस्थामा अगाडि बढिरहेको स्थितिलाई भड्काएर अनावश्यक त्रास उत्पन्न गर्ने काम सबैका लागि हानिकारक छ ।
नयाँ संविधान र शासन व्यवस्थासम्बन्धी मान्यताले अझै परिपक्वता हासिल गर्न सकिरहेका छैनन् । हजारौंको आत्मबलिदान र लाखौंको सङ्घर्षबाट कोरिएको संविधानले मुलुकलाई अग्रगमनको दिशामा डोर्याउन खोजेको छ । सोही अनुसारको युगीन मागलाई सम्बोधन गरेर राजनीतिक शुद्धीकरण र आचरणको परिष्कारतर्फ डोरिनुपर्छ । स्थिर सरकारबाट विकास र सुशासनको प्रत्याभूति गरिनु अहिलेको निर्विकल्प आवश्यक्ता हो । यस्तो अवस्थामा स्वार्थबाट प्रेरित फकरताउला कुरा र बेमौसमी खेतीको कुनै औचित्य देखिँदैन ।
संसारका विभिन्न मुलुकमा फरकफरक किसिमका शासन र प्रणालीहरु अवलम्बन गरिएका छन् । ती सबै शासनप्रणाली तथा व्यवस्था दोषरहित छैनन् । शासक सञ्चालकको नैतिकता, इमानदारी सुसंस्कार र सही अभ्यासको बलमा ती व्यवस्था अनुप्राणित र सफल बनेका हुन् । मुलुकले नयाँ संविधान पाएको छ भनेर थपडी बजाएर मात्रै पुग्दैन, राजनीतिका महारथीले उच्च नैतिकता पनि प्रदर्शन गर्नुपर्छ । तब मात्र संविधान जीवन्त र मुलुकको परिवर्तनको पथप्रदर्शक बन्न सक्छ । इतिहासमा नेपाली राजनीति र राजनीतिकर्मीमाथि लागेका धब्बा पखाल्ने मौका पनि यहीँ हो ।
प्रतिक्रिया दिनुहोस्