१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जयरानीको राष्ट्रिय कीर्तिमान

४ सय मिटर हर्डल्स १ मिनेट ०७ दशमलब २ सेकेण्डमा पूरा

117
Shares

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

नेपाल एथलेटिक्स संघको आयोजनामा भईरहेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत आज जयरानीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

दशरथ रंगशालामा जयरानीले निर्धारित दुरी १ मिनेट ०७ दशमलब २ सेकेण्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७ दशमलब ७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५ दशमलब २० सेकेन्डको कीर्तिमान रचेकी थिइन् ।

यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६ दशमलब ३८ सेकेन्ड थियो । ४ सय मिटर पुरुषतर्फ आर्मीका राम प्रसाद थारुले ५५ दशमलब ९ सेकेण्डको समयसहित स्वर्ण जिते ।

जयरानीले महिला लङजम्पका पनि स्वर्ण हात पारिन् । जयरानीले ५ दशमलब १३ मिटर जम्प गरिन् । पुरुषतर्फ ६ दशमलब ८५ मिटरका साथ एपीएफका सलिम दिवामले स्वर्ण जिते ।

८ सय मिटरको पुरुषमा आर्मीका सोम बहादुर कुमालले स्वर्ण जिते । उनले १ मिनेट ५६ दशमलब १५ सेकेण्डको समय निकाले ।

महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण जितिन् । उनले २ मिनेट १६ दशमलब ८ सेकेण्डको समय दूरी पुरा गरिन् ।

२ सय मिटरमा एपीएफका शिवराज पार्कीले २१ दशमलब ९२ सेकेण्डको समय निकाल्दै स्वर्ण जिते ।