
काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीपदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताउनुभएको छ ।
आज (सोमबार) मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफू अहिलेपनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताउनु भयो । मन्त्री श्रेष्ठले । ८ महिना २१ दिन मन्त्री भएर आफूले गरेका कामहरु सगौरव प्रस्तुत गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नचाहिने हल्लाहरु फिँजाइएका छन् । कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरु भनेर पनि आक्षेप आएको छ । हामी मन्त्रीहरुको भनाइ के हो भन्दा लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेश गसिकेपछि बजेटको माननीयहरुले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्नेमात्रै हाम्रो कुरा हो । यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे, मन्त्री छोड्नै लागेको छैन् रे, प्रधानमन्त्रीलाई प्रेसर रे, यो केही होइन् । मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर म आएको छु । मन्त्रीपदमा टाँसिरहनु, मन्त्री भएर पैसा कमाउनु, त्यस्तो मेरो लोभ लालच छैन् । ८ महिना २१ दिन बसेर आफूले गरेका कामहरु सगौरव भन्न पाइयो यही ठूलो कुरा हो ।’
निवर्तमान श्रममन्त्री श्रेष्ठले प्रतिनिधि सभा र राष्ट्रिय सभामा मन्त्रीले बोलिसकेपछि क्रस क्वेशन गर्ने र असन्तुष्टि जाहेर गर्ने कुरा आफूमा लागू नभएकाले पनि सबै काम राम्रो गरेको प्रमाणित भएको दावी गर्नुभयो । उहाँले पार्टीकै अर्का मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आफूलाई नै नम्बर दिएकोप्रति लक्षित गर्दै आफूले गरेको कामको नम्बर जनताले दिने बताउनुभयो । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले आइतवार पत्रकार सम्मेलन गर्दै आफूले गरेका काममा ९० अंक दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्