१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेताहरू घमण्डी हुँदा देश बनेन : मन्त्री चौधरी


598
Shares

काठमाडौं । नव नियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश बन्न नसेकेको टिप्पणी गर्नुभएको छ ।

सोमबार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।

मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नेताहरूले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताउनुभयो ।

‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौं, मुलुक चलाउने मान्छे पनि घमण्डी भयौं, कर्मचारीको बारेमा त के भनौँ र ?’ उहाँले भन्नुभयो, ‘हामीले आफ्नो तर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौं ।’

मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिवद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने बताउनुभयो । मन्त्रीहरूले घुस खाँदा मुलुक नबन्ने र घुस नखाँदा पैसा नहुने भएकोले अप्ठ्यारो रहेको उहाँको भनाइ छ ।