
काठमाडौं । प्रदेश नं १ प्रदेशसभा बैठकमा विनियोजन विधेयक अन्तरगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल सकिएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको हो ।
छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गर्नुभयो ।
अर्का सदस्य चुमनारायण तवदारले कृषि विकासको मूल आधार भएकाले कृषकले पाउने अनुदान, सहुलियत ऋण झन्झटिलो हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
सदस्य अम्बिका थापा, उत्तमकुमार बस्नेत, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, विमल कार्की, राजकुमार ओझा, लक्ष्मण तिवारी, शिवनारायण गनगाईं, सीतादेवी थेवे र हिराकुमार थापालगायतले बजेटको विविध पक्षमा चर्चा गर्नुभएको थियो ।
प्रदेशसभा सदस्य इन्दिरा राई, कृष्णकुमारी राई, वसन्तकुमार बानियाँ, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, लीला सुब्बा र सर्वध्वज सावाले मुलुकमा महँगी बढेका कारण जनताले भोग्नुपरेको समस्या, सिँचाइका लागि पैनी, खानेपानी, विपद् परेका जनतालाई राहत वितरण जस्ता विषय उठाउनु भएको थियो ।
प्रदेशसभाको अर्को बैठक मंगलबार विहान ११ः३० मा बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्