
परासी । जिल्ला अदालत नवलपरासीका न्यायाधीश र कानुन व्यवसायीबीच भएको विवादले उत्कर्ष रूप लिएपछि बार एशोसियशनले संवादबाटै समाधान हुने विश्वास लिएको छ ।
नवलपरासी जिल्ला अदालत बार एसोसिएशनले सोमबार विज्ञप्ति निकालेर संवादबाटै समस्याको समाधान निस्कनेमा विश्वस्त भएको हो ।
हप्ता दिनअघि घरेलु हिंसा सम्बन्धीको मुद्दाको बहसका क्रममा जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै अधिवक्ता अमरबहादुर शाहले न्याय परिषद् र जिल्ला बार एसोसिएशनमा निवेदन दिएपछि बारले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
बहसमा न्यायाधीश बस्नेतले आफूलाई नराम्रो मान्छे भनेको र इजलासबाट बाहिर जान भन्दै ‘गेट आउट’ भनेको अधिवक्ताद्वारा दिइएको निवेदनमा उल्लेख छ ।
निवेदनसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बाहिर आएपछि बारका जिल्ला अध्यक्ष चुराबहादुर थापा र सचिव अरुणोदय उपाध्यायले संयुक्त विज्ञप्ति जारी गर्दै संवादबाट समाधान हुने जनाइएको छ ।
‘कुनै अमुक मुद्दाको बहसको क्रममा अमुक कानुन व्यवसायी र न्यायधीशबीच सिर्जना हुने विषयवस्तु स्वतन्त्र न्यायपालिकाको गरिमा, मर्यादा र जनास्थामा आँच पुर्याउने गरी सार्वजनिकरण हुनु उचित र बाञ्छनीय मान्न सकिदैन’, विज्ञप्तिमा भनिएको छ ।
घटनाले न्याय सम्पादन र प्रक्रियामा सहकार्य गर्दै आएको बार र बेञ्चबीच कायम रहेको रचनात्मक मित्रवत सम्बन्धलाई बिग्रन नदिने कुरामा बार सचेत रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्