
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिनाभन्दा बढी समयदेखि बेपत्ता दुई विदेशी पर्यटकको खोजीमा मौसम बाधक बनेको छ ।
गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन भएका थिए ।
प्रहरीले नेपाली सेनाको समेत सहयोगमा खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तरको वर्षात तथा भौगोलिक कठिनाइका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।
प्रहरीले गोकियो, थाङबोचे र एभरेष्ट बेसक्याम्पमा तीन टोली बनाएर खोजी गरिरहेको प्रनाउ शाहको भनाइ छ । भीर तथा जङ्गलको क्षेत्र भएकाले खोजीका लागि चुनौती रहेको प्रहरीले जनाएको छ ।
खोजीका लागि भारत र कोरियाबाट आएका आफन्तहरू पनि सक्रिय रहेको जनाइएको छ । बेपत्ताहरू विना गाइड एक्ला एक्लै भ्रमणमा आएका कारण अवस्था पत्ता लगाउन असहज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्