१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, एक गम्भिर घाइते


65
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा मंगलबार साँझ जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका–१ का २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २३ वर्षीय दिपेश गोलेको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको हो ।

जिप सहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।

यस्तै, प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङमा मंगलबार राति ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ ।

सुदुरपश्चिम प्रदेश ०१ ००२ त ५२१२ नम्बरको ट्याक्टरमा सवार स्थानीय ३८ वर्षीया शान्ता रोकाको मृत्यु भएको हो । मध्यरातमा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

ट्याक्टर सहित चालकलाई अस्थाई प्रहरी पोष्ट कैरन प्युठानले नियन्त्रणमा लिएको छ ।

यसैगरी, मोरङको रंगेली नगरपालिका–७ मा मंगलबार स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन् ।

माउन्टेन मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले ठक्कर दिँदा स्थानीय महादेव मण्डलका ४ वर्षीय छोरा रितिकको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा टाईम्स अस्पताल रंगेलीमा मृत्यु भएको हो । यसैगरी, दुर्घटनामा घाइते भएकी नरेश मण्डलको छोरी ५ वर्षीया सनम कुमारीलाई थप उपचारका लागि विराटनगर लगिएको छ ।

स्कुल बसले सोही स्कुलमा अध्यनरत उनीहरुलाई स्कुलको गेट नजिकै ठक्कर दिएको थियो ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय रंगेली मोरङले नियन्त्रणमा लिएको छ ।