
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै आज (बुधबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताउनुभयाे । उहाँले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनुभयो । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ । माओवादी बाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रमपनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधि सभाको राेष्ट्रमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्याउन सकिन्छ भन्ने मेरो विश्वास छ । ३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नित, बिग्रियो नित भन्ने लाग्ने सक्छ ।’
अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गर्नुभयो । उहाँले जनताको आवाज भनेकै पूर्व माओवादीहरु सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्सुनी र अन्देखा गर्न नमिल्ने बताउनुभयो । उहाँले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताउनुभयो । उहाँले आफूबिना कसैलेपनि माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न नसक्ने दावी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सबैतिर एउटै चेतनाको बिस्तार भएको छ । माओवादी सबै एकै ठाउँमा हुनुपर्छ । यो सबैतिर छ, कसैले थेग्न सक्दैन । एकता अपरिहार्य छ । यो जनताको माग हो । जनताको मागलाई अन्देखा र अनसुनी गर्नुहुँदैन । कोही नेताहरुलाई फेरि प्रचण्डकोमा नै जाने भन्ने लाज लाग्न सक्ला । लजाउनु पर्दैन । यो दबाव जनताले दिएका छन् । त्यसैले सबैले आत्मसमीक्षा गरौँ, एकपटक हामी एकै ठाउँमा उभियौँ मात्रे भने भौतिक शक्तिमा परिवर्तन हुन्छ, कसैले त्यो शक्तिलाई रोक्नै सक्दैन । यथार्थ त्यही नै हो कसैलाई मीठो नलाग्न पनि सक्छ । माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न प्रचण्डबिना सम्भव छैन् । मेरा थुप्रै कमीहरु भएपनि यथार्थ आज पनि त्यही नै हो ।’
अध्यक्ष दाहालले आफ्नो उदारतावादीले कहिलेकाहीँ धोका खाएको बताउनुभयो । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको उहाँले बताउनुभयाे । अब नयाँ मन्त्रीलाई जिम्मेवारी दिदा सोच्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्