
सुनसरी । सुनसरीमा लगातारको वर्षातका कारण १ हजार घर डुवानमा परेका छन् ।
साथै १ सय ५० घर विस्थापित भएका छन् । वर्षातका कारण पानीको निकास नभएको र खोलाको बाढी बस्तीमा छिरेपछि सुनसरीको पूर्वपश्चिम राजमार्ग दक्षिणको अधिकांश बस्ती डुवानमा परेको हाे। तीनदिनदेखिको वर्षातका कारण सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका, कोशी गाँउपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगरा गाँउपालिका, बर्जु गाँउपालिकाका दर्जनौं बस्तीहरु डुवानमा परेका छन् ।
भोक्राहा नर्सिङ गाँउपालिकाको ५ र ७ वडाका ७० घर परिवार बाढीका कारण विस्थापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएकाे छ। उहाँका अनुसार बर्जुको ५ नम्बर वडा, दुहबीको १२ नम्बर वडा, कोशीको २ नम्बर वडा, इनरुवाको ४-६ र ८ नम्बर वडा डुवानमा परेको छ ।
सुनसरीका सबै स्थानमा गरि १ हजार घर डुवानमा परेको अनुमान गरिएको छ । वर्षात नरोकिएका कारण एकिन डाटा संकलनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । बर्जु र भोक्राहा लगायतका स्थानका बाढीबाट विस्थापित १ सय ५० घर परिवारलाई नजिकैको विद्यालय र सार्वजनिक स्थानमा लगि सकिएको उहाँले बताउनुभएकाे छ।
वर्षातका कारण हरिनगरा गाँउपालिकाको शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) डुवानमा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईले बताउनुभएकाे छ। सुरक्षा कार्यालय नै डुवानमा परेपछि यहाँ कार्यरत सशस्त्र प्रहरी विचलित भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । वर्षात नरोकिएकाले घरबाट बाहिर ननिस्कन र सुरक्षित रहन स्थानीय प्रशासनले सुनसरीका बासीन्दालाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्