१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा, राजीनामापछि भाजपाको नयाँ योजना के छ ?


1.053k
Shares

काठमाडौं । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।

बुधबार राति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । उद्धव ठाकरेले आफूले विधान परिषद्को सदस्यता पनि त्याग्ने बताएका छन् । बुधबारै उनले राजभवन पुगेर राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाएका छन् ।

यसअघि बुधबार राति करिब ९ बजे सर्वोच्च अदालतले बहुमत परीक्षण रोक्न अस्वीकार गरेको थियो । महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए । त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए । त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे । उनी करिब साढे २ वर्ष महाराष्ट्रको मुख्यमन्त्री भए ।

उद्धवले कोश्यारीलाई राजीनामा बुझाएपछि महाराष्ट्रमा भाजपाले सरकार बनाउन सक्ने अनुमान गरिएको छ । किनभने उद्धवको राजीनामापछि राज्यका पूर्व मुख्यमन्त्री तथा भाजपा नेता देवेन्द्र फडणवीसको ट्वीट पछि भाजपाले सरकार बनाउने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार उनले प्रदेशको राजनीतिक घटनाक्रम र आफ्नो आगामी कदमबारे जानकारी दिने कुरा ट्वीटमा उल्लेख गरेका छन् । जानकारी अनुसार शिन्दे गुटका विधायक गोवा पनि पुगेका छन् ।

उद्धवको राजीनामापछि देवेन्द्र फडणवीसले बिहीबार पार्टीले निर्णय लिने बताएका छन् ।