१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले आयल निगम व्यापारीको हातमा दिन लागेको रामचन्द्र पौडेलको आरोप


117
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ ।

६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहनुभएका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाउनुभएको हो । उहाँले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्र्र्र्बाैं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाउनुभयो ।

‘आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे,’ उहाँले भन्नुभयो, ‘यो चलखेलको पछाडि करोड होइन, अर्बौंको हात हुनसक्छ, त्यति कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि !’

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरूले अघि ल्याउनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले किसानहरूलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरूलाई सचेत गराउनुभयो । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरूले खोज्ने नमिल्ने उहाँको भनाइ थियो ।