
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले राष्ट्रिय सभाको आज शुक्रबारको बैठक बहिष्कार गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर, एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा माग गरेको हो ।
एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताउनुभयो । उहाँले अर्थमन्त्री शर्माले देशद्रोही र घातक काम गरेको उल्लेख गर्नुभयो ।
सांसद श्रेष्ठले आफूहरुले बैठकमा अर्थमन्त्रीको कार्यसूची बहिष्कार गर्ने बताएसँगै एमाले सांसदहरु बाहिरिएका थिए ।
एमालेले अर्थमन्त्रीलाई बहिष्कार गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो प्रस्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई आग्रह गर्नुभएको थियो ।
बैठकमा अर्थमन्त्रीले पेस गर्नुभएको ‘आर्थिक विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको घोषणा गर्नुभयो ।
त्यसैगरी, अर्थमन्त्री शर्माले पेस गर्नुभएको ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ ।
अर्थमन्त्री शर्माले पेस गर्नुभएको प्रस्तावमाथिको कारबाही सकिए लगत्तै एमाले सांसदहरु पुनः राष्ट्रिय सभा बैठकमा भाग लिन प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्