७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ओखलढुंगाका हाटबजार हराउँदै


195
Shares

ओखलढुंगा । ओखलढुंगाका गाउँघरमा उत्पादन हुने कृषि उपज किनबेचका लागि साप्ताहिकरुपमा लाग्दै आएका हाटबजार हराउँदै गएका छन् । यातायातको बढ्दो पहुँच र प्रभावका कारण दुर्गम क्षेत्रमा लाग्ने कृषि हाट हराउँदै गएका हुन् ।

एक दशक अघिसम्म जिल्लाका विभिन्न १७ ठाउँमा हाटबजार लाग्ने गरेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । तीमध्ये अधिकांश हाट बन्द भएका छन् ।

जिल्लामा अहिले ओखलढुंगा सदरमुकाम, रामपुर, रुम्जाटार, मानेभञ्ज्याङ, खानीभञ्ज्याङ, केत्तुके, खिजीफलाटे, घोराखोरीलगायतका ठाउँमा साप्ताहिक हाट लाग्ने गरेको छ । यहाँ लाग्ने साप्ताहिक हाटमा पहिलेजस्तो किनमेल गर्नेको चाप घटेको स्थानीय बताउँछन् ।

जिल्लाका बिल्दु, ढाडखोला, तालकोट, उँबू, कालीमाटी, कोषहाट, मंगलबारेलगायतका ठाउँका हाट हराउँदै गएका छन् । हाट हराएपछि किसानलाई कृषि उपज बिक्रीमा समस्या भएको छ ।