१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा गत वर्षका बाढी पीडितलाई राहत वितरण सुरु


169
Shares

काठमाडौं । कैलालीको भजनी नगरपालिकाका बाढी पीडित किसानहरूलाई प्रदेश सरकारले राहत वितरण सुरु गरेको छ ।

गत कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका बाढी पीडित किसानलाई राहत वितरण थालिएको हो । किसानलाई क्षतिको आधारमा राहत रकम दिन सुरु भएको भजनी नगरपालिकाले जनाएको छ ।

किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई ७५ रुपैयाँ प्रति कट्ठा रकम वितरण थालिएको हो ।

एक किसानलाई ५५ हजारभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । राहतको लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट २ करोड ९२ लाख बजेट पुगेको छ ।

किसानलाई पायक पर्ने बैंकमा खाता खुलाइ बैंकमार्फत वितरण भइरहेको नगरपलिकाले जनाएको छ । नगरपालिकाले अहिलेसम्म १ करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाई सक्ने गरी काम गरिरहेको छ ।

यस्तै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ। टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको जनाइएको छ ।