
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताउनुभयो ।
अध्यक्ष थापाले पार्टीहरूको स्वार्थ परिपूर्तिको निमित्त ६/६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको बताउनुभयो । उहाँले यस किसिमका विकृति र विसंगतिलाई हटाउन नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
अध्यक्ष थापाले मन्त्री हुन सांसद हुनु अनिवार्य नहुने र दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हीत गर्न नसकेको पनि बताउनुभयो । उहाँले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगति हुन थालेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्