
काठमाडौं । अमेरिका भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ । त्यस क्रममा दुई देशबीचको सैनिक तथा रक्षा सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानसेनापति शर्माले अमेरिकी संयुक्त सेनाका उपाध्यक्ष एडमिरल क्रिस्टोफर डब्ल्यू ग्राडी, दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने अमेरिकी रक्षा उपमन्त्री लिन्ड्जे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका चिफ अफ द स्टाफ जेम्स चार्ल्स मकोनभिलसँग भेटवार्ता गरिसक्नु भएको छ ।
भेटवार्ताहरुमा दुई सेनाबीच रहेको सौहार्द सम्बन्धलाई अझै बलियो बनाउने, सैनिक सम्बन्धलाई विपद् प्रतिकार्य र मानवीय सहयोग तथा राष्ट्रसंघीय शान्ति कार्यमा मिलेर जाने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । त्यसअघि प्रधान सेनापति शर्माले पेन्सलभेनियामा रहेको अमेरिकी सेनाको वार कलेजको भ्रमण गर्नुभएको थियो भने नेशनल डिफेन्स युनिभर्सिटीको पनि भ्रमण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्