२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्रीय समिति बैठक सुरू


52
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक मंगलबारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकले ९ वटा एजेण्डामा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा जानकारी गराउनुभएको छ । उहाँले बैठकको एजेण्डाहरुमा सहिदहरूप्रति श्रद्धाञ्जली, नयाँ केन्द्रीय कमिटी सदस्यहरुको शपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशहरुको तर्फबाट संक्षिप्त रिपोर्टिङ गर्ने रहेको बताउनुभयो ।

प्रदेशको तर्फबाट प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्ने र मधेश प्रदेशको हकमा भने प्रदेश इन्चार्जले रिपोर्टिङ गर्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी बैठकको कार्यसूचीमा अध्यक्ष दाहालबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ हुने पनि राखिएको छ ।

माओवादी केन्द्रको यस केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डाहरूमा पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीको चयन गर्ने, कार्यविभाजन गर्ने, स्थानीय तहको निर्वाचनको समिक्षा गर्ने, आगामी प्रदेश र संघीय निर्वाचनको तयारी तथा विविध विषयमा छलफल हुने अध्यक्ष दाहालले बताउनुभयो ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले तत्काल पदाधिकारीको टुंगो लगाउनुपर्ने माग गरेका छन् । महाधिवेशनदेखि नै रिक्त रहेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने कार्यसूची अध्यक्ष दाहालले पेश गरेसँगै सबै समितिहरू बन्नेमा बैठकमा सहभागी हुन आएका नेताहरू आशावादी देखिएका छन् ।

अर्कोतर्फ एजेण्डामा राखेर अन्तिममा निर्णय नहुने हो कि भन्ने आशंकापनि केन्द्रीय समिति सदस्य लेखनाथ पौडेलले बताउनुभयो ।

पार्टी अध्यक्षलाई पार्टीका सबै संरचना चलाउनुपर्ने र राष्ट्रिय राजनीतिमा पनि भूमिका खेल्नुपर्ने भएको हुँदा धेरै बोझ भएको भन्दै अध्यक्षको सहयोगको लागि पनि छिटोभन्दा छिटो पार्टीका समितिहरू बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।