
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी गर्ने काम हुन नदिन सरकार सचेत रहेको बताउनुभएको छ ।
मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठन सम्बन्धी उठाएका अन्य मागहरूको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताउनुभयो ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरूले राखेको धारणा जायज रहेको प्रतिक्रिया समेत दिनुभयो ।
मन्त्री पौडेलले सांसदहरूले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरूमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराउनुभयो ।
मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटक–पटक दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्