
-प्रकाश मैनाली
उर्जासिल र क्षमता भएका युवाहरु बैदेशिक रोजगार तथा सहर बजारमा गएर काम गरिरहेका छन् । पारिवारीक समस्या र बाध्यताका कारण युवाहरुले गाउँ छाड्नुपर्ने तितो यर्थाथ नेपालमा छ । यस्तो समस्या आजको मात्र होइन । बर्षौं बर्षदेखि युवाहरु गाउँ छाडिरहेका छन् । यद्यपी, महामारी र महाविपत्तीका बेला सात समुद्र पारीबाट पनि आफ्नै गाउँ फर्किनु नेपालीको नियती हो । श्रम बेच्न नपाएपछि र बाँच्ने अवस्था नभएपछि युवाहरु आफ्नै गाउँ फर्कि आउँछन् । कोरोना भाइरसको महामारीले पनि त्यस्तै अवस्था सिर्जना गराइदिएको छ । लाखौं युवाहरु यतिबेला गाउँ फर्केर आएका छन् ।
उनीहरु गाउँ फर्किएपछि अनेक प्रश्नहरु पनि तेर्सिएका छन । के अब गाउँ घरमै रोजगार संभव छैन् ? फेरि सयांै किलोमिटर हिडेरै घर र्फकनु पर्ने अवस्था सिर्जना होला कि नहोला ? अब फेरि यस्तो नहोस भनको लागि के गर्ने ? महाविपत्तीले रोजगारको पनि अन्योल भएका बेला यस बिषयमा तमाम युवाले एक पटक सोच्न आवश्यक देखिएको छ ।
कोरोना महामारीका कारण बिश्व भरमा करिव एकसय पचास करोड मानिसले रोजगार गुमाउने तथ्याकं बाहिरिएका बेला नेपाल जस्तो बिकासोन्मुख देशले यस्तो विषम परिस्थितिलाई अवसरको रुपमा सदुपयोग गर्नसके देश विकास हुने देखिन्छ । हुनत यतिबेला नेपाल आएका नेपालीका कारण बिकासको बाढी आउने होइन । यो त क्रमिक रुपमा हुने कुरा हो । त्यसैले अब कोरोना नियन्त्रणपछि बिकासको बिषयमा रणनीतिक रुपमा अगाडी बढन आवश्यक देखिन्छ । यो समयमा देश विकास गर्ने अवसरको रुपमा लिन सक्नुपर्छ । यदी त्यसो गरिएन भने देशले ठूलो मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न । रोजगारीका सिलसिलामा गाउँ छाडेका नेपालीले रेमिट्यान्स सँगसँगै सीप, योजना, कार्यदिशाका साथमा लक्ष्य सगाँलेर गाँउ फर्कन आवश्यक छ ।
यसलाई सार्थकता दिनका लागि संघ, प्रदेश र स्थानीय सरकारले विशेष योजना ल्याउन आवश्यक देखिएको छ । त्यसमा पनी नेपाल कृषी प्रधान मुलुक भएकाले कृषिमा आधारित उद्योग स्थापना गरिनुपर्छ । यसो गर्दा यतिबेला उत्पादित बस्तु कतै कुइएर खेर गइरहेको छ भने कतै अभाव सिर्जना भइरहेको देखिन्छ । यसबाट पाठ सिक्दै अब उत्पादित कृषि सामाग्रीलाई र भन्डारणतर्फ समेत सोच्दै जाने बेला आएको छ । कृषिजन्य उत्पादनलाई प्रशोधन गर्नसके किसानले उतपादन गरेको बस्तुले बजारमा राम्रै मूल्य पाउने मात्र नभइ किसान पनि खुशी हुनेथिए ।
कोरोनापछिको सहज समयमा प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा कस्तो र कुन बस्तुको राम्रोे उत्पादन छ । त्यसलाइ मध्यनजर गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिन सक्नुपर्छ । स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना गर्दा एक तह एक उद्योग वा एक जिल्ला एक प्रकृतिको उद्योग स्थापनामा लागे यसले देशभित्र रोजगारी सिर्जना हुनुको साथै बैदेशिक रोजगारिमा गएकाहरुले समेत देशै भित्र रोजगारी पाउने देखिन्छ । जसले गर्दा देशले आर्थीक रुपमा समेत प्रगति गर्ने देखिन्छ । बिदेशमा गएर श्रम लगानी गर्दै आइरहेका नेपालीले फेरि स्वदेशमै लगानप् गर्ने वातावरण सिर्जना हुने देखिन्छ ।
बैदेशिक रेजगारीबाट आर्जन हुने पैसाले देश बिकास र्गछु भनेको ‘मुतको न्यानो’ जस्तै हो । क्षणीक बिकासले देश बिकास हुँदैन । बैदेशिक रोजगारीबाट कमाउने रकम भनेको पाखुरीमा बल भइन्जेल मात्र हो । जब पाखुरीमा बल सकिन्छ तब सबै कुरा मित्था हुन्छ । भने अनेन्त्र गएर जतिनै आर्जन गरेपनि आफ्नो ठाँउमा फरकदा फेरि तलवाटै सुरु गनु पने देखिन्छ । बिदेश होस वा स्वदेशमा आफ्ने ठाँउ भन्दा बाहिर गएर गरेको कामले बुढेसकालमा खासै काम लाग्छ जस्तो लाग्दैन । आफ्नो धरातलमा उभिएर बिकास र समृद्धीको सपना देखेमा मात्र पुरा हुन्छ । ‘अर्काको नासो गलाको पासो’ भने झैं बिदेशबाट आएको रेमिट्यान्सले मात्र देश बिकास सम्भव हुन्न ।
बिकसित मुलुकको बिकास हेर्ने हो भने पनी देश भित्रको उद्योग, कल कारखानाको माध्यमबाट बिकास भएको देखिन्छ । बैदेशीक रोजगारीको माध्यमबाट बिकास भएको एक मुलुकको समेत उदाहरण दिनसक्ने अवस्था छैन । बिश्व जगतको इतिहास हेरेर समेत हामीले यो पाठ सिक्न आवश्यक छ । देश बिकासमा बास्तवमा चाहने हो भने नेपालजस्तो देशमा कृषिमा आधारि उद्योग स्थापना गर्न आवश्यक छ । प्रत्येक नेपाली कुनै न कुनै किसिमले कृषिमा आश्रित छन् । अब मात्र खाँचो छ–व्यवस्थित तरिकाले गर्न÷गराउन । त्यसैले अबको यस विशेष परिथितीलाई ध्यान दिएर बजेट निर्माणमा तिनै तहले यस्ता बिषयमा बजेट छुटाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्