७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लुम्बिनी प्रदेशमा धान उत्पादन घट्यो


39
Shares

काठमाडौं । बेमौसमी बर्षाका कारण यस वर्ष लुम्बिनी प्रदेशमा धान उत्पादन घटेको छ ।

राष्ट्र बैंक कृषि क्षेत्रअन्तर्गतको विवरणअनुसार साउनदेखि पुससम्मको अवधिमा ७ दशमलव ०८ प्रतिशतले धान उत्पादन घटेको हो । प्रमुख बाली धानको उत्पादन ठूलो परिमाणमा घटेका कारण अन्न बाली उत्पादनमा ह्रास आएको देखिएको हो ।

कात्तिक महिनामा भएको बेमौसमी वर्षाले नवलपरासी, रुपन्देहीलगायतका जिल्लाहरूमा धान खेती डुवानमा परेका कारण धान उत्पादनमा गिरावट आएको हो । यस्तै प्रदेशमा समग्र गहुँबालीले ढाकेको भू–क्षेत्र वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

फलस्वरुप गहुँ उत्पादन भने करिब १ दशमलब ३५ प्रतिशतले वृद्धि हुने अनुमान राष्ट्र बैंकले गरेको छ ।

यता मकै मिसन कार्यक्रम सञ्चालन एवं उन्नत जातको बिउको प्रयोगले गर्दा गुल्मी, पूर्वी रुकुम जस्ता पहाडी र बर्दिया जिल्लाहरुमा मकै उत्पादन वृद्धि हुने अनुमान गरिएको भए तापनि प्रतिकुल मौसम अर्थात हावाहुरीको कारण समग्र मकै उत्पादनमा सामान्य ह्रास हुने राष्ट्र बैंकको अनुमान छ ।

अन्य बाली उत्पादनमा ह्रास नआएको भए पनि उल्लेख्य रूपमा नबढ्ने अनुमान गरिएको छ । यद्यपि, प्रदेशमा पशुजन्य उत्पादन भने नघटेको प्रतिवेदनमा उल्लेख छ । तरकारी उत्पादन भने लुम्बिनी प्रदेशमा बढेको देखिएको छ ।

समग्र तरकारी उत्पादनमा करिब ५ दशमबल २३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । फलफूल त्पादन पनि झिनो अंकले बढ्ने राष्ट्रबैंकको अनुमान छ । त्यस्तै प्रदेशमा मासु उत्पादनको अवस्थामा क्रमिक सुधार आएको देखिएको छ ।