
काठमाडौं । नवनियुक्त ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सत्तारुढ दलको घटक जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सोमबार नियुक्त भएका ३ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरू मृगेन्द्रकुमार सिंह, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई शपथ ग्रहण गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव रहनुभएको छ ।
सपथ ग्रहणपछि सोमबार नै सिंहदरबारमा आआफ्ना मन्त्रालयमा गएर नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको छ ।
जसपाले सोमबार उनीहरूलाई मन्त्रीमा सिफारिस गरेको थियो । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरूलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वनमन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो ।
जसपाबाट यसअघि मन्त्री रहनुभएका राजेन्द्र श्रेष्ठलाई भने फिर्ता बोलाएको छैन । जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद उत्कर्षमा पुगेको बेला मन्त्री हेरफेर भएको हो ।
मन्त्री हेरफेरको निर्णय नमान्ने डा.भट्टराई पक्षले चेतावनी दिएको छ । मन्त्री फेरफेरको निर्णयसँगै जसपाभित्रको विवाद थप चर्किने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्