२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बेलायती प्रधानमन्त्री जोन्सनलाई राजीनामा दिन दबाब


221
Shares

काठमाडौं । सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारहरूले राजीनामा दिएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ठूलो दबाबमा पर्नुभएको छ ।

जोन्सनका मन्त्रीमण्डलका शक्तिशालीमध्ये एक अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जोन्सनको साथ छोड्ने मन्त्री र सल्लाहकारको संख्या तीन तीन दर्जन पुगेको बीबीसीले जनाएको छ ।

हालसम्म ३४ जना मन्त्री र सल्लाहकारले राजीनामा गरिसकेका छन् । यौन दुर्व्यवहारको आरोपितलाई महत्वपूर्ण पदमा नियुक्त गरेको विषयमा प्रधानमन्त्री बोरिस जोन्सनमाथि नैतिक प्रश्न उठाउँदै मन्त्रीहरूले राजीनामा गरेका हुन् ।

दर्जनौं मन्त्रीको राजीनामापछि प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको चर्को दबाब परेको छ । उहाँको पार्टीका साथै सरकारमा रहेका कयौं मन्त्री समेतले राजीनामा गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

तीव्र दबाबबीच पनि प्रधानमन्त्री जोन्सनले भने तत्कालै राजीनामा नदिने बताउँदै आउनुभएको छ ।