
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरू वीरगञ्जमा रोक्न नमिल्ने बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायहरूसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताउनुभएको हो ।
उहाँले राजश्व संकलनको लक्ष्य पूरा गर्नको लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो भने कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने बताउनुभयो ।
मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने बताउनुभयो । उहाँले छिटो छरितो भएर सुविधाहरू बढ्दै जाँदा राजश्व पनि वृद्धि हुने बताउनुभयो ।
मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहलाई गतिशिल र पूर्णरूपमा चलाउन कहाँ के समस्या रहेको छ बुझ्न इन्टरमोडललाई निर्देशन दिनुभयो ।
मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले बन्दरगाह सञ्चालनमा ल्याउनको लागि मार्केटिङ, रेडियोमार्फत प्रचारप्रसार गर्न निर्देशन दिनुभयो । मन्त्री बडूले बन्दरगाह सञ्चालनमा भएका समस्या र नीतिगत समस्या भए सरकार परिर्वतन गर्न तयार रहेको बताउनुभयो ।
मन्त्री बडूले भन्सार एजेण्डा तथा एलसी समस्या भए राष्ट्र बैंक, अर्थ मन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरेर तत्काल चोभार सुख्खा बन्दरगााह सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्