१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


४ वर्षदेखि विचाराधीन नागरिकता संशोधन विधेयक फिर्ता

सबै दलकाे सहमतिमै नयाँ विधेयक ल्याउने निर्णय भएकाे मन्त्री खाँणको प्रष्टिकरण

182
Shares

काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरूले फिर्ता लिन हुने र नहुने दुवै पक्षबाट मत प्रकट गरे ।

४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक फिर्ता लिएर नयाँ ल्याउँदा अहिलेकै कार्यकालमा कानुन बनाउन सकिन्छ ? भन्ने सांसदहरूको प्रश्न थियो ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले तत्काल नागरिकता विधेयक ल्याइने बताउनुभयो ।

विचाराधीन विधेयकमा रहेका विवादित विषय कायमै राखेर अगाडि बढाउनभन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा समयसापेक्ष र दलीय सहमति जुटाउन सजिलो हुने भएकाले विधेयक फिर्ता लिएको उहाँको प्रष्टीकरण थियो ।

विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउने निर्णय सबै दलका शीर्ष नेताहरूको सहमतिमा गरिएको गृहमन्त्री खाँणको भनाइ थियो ।

गृहमन्त्री अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ विधेयक ल्याउने जानकारी दिनुभयो ।