
काठमाडौं । मुस्लिम समुदायहरुको महान् चाड बकर इद आज आइतबार परेको छ । बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिनु भएको छ ।
छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गर्नुभएको छ ।
‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामथ्र्य हो,’ राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ ।
यस्तै, उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको भन्दै विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताउनु भएको छ ।
उहाँले भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गर्नू भएको छ ।
नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यहीँ विविधताबीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान भएको बताउनुभयो ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताउनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुस्लिम समुदायका समस्या समाधान गर्दै समाजवादको आधार तयार गर्ने तथा आपसी सहिष्णुता अभिवृद्धि गरी प्रगतिशील समाज निर्माण गर्न यस पर्वले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्