
म्याग्दी । जिल्लामा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई दिनका लागि १ रुपैयाँ दान अभियान सुरु भएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको स्वर्गीय बाआमाको नाममा ट्रष्टदेखि स्मृति पार्क बनाउन बजेट विनियोजन गरेको विरोध गर्दै १ रुपैयाँ संकलन अभियान सुरु गरेका हुन् ।
सोमबार दिउँसो बेनीको विरेन्द्रचोकमा एक कार्यक्रमको आयोजना गरि संकलित रकम मुख्यमन्त्री र मन्त्रीहरूलाई बुझाइने अनेरास्ववियूले जनाएको छ ।
जनताको करबाट उठाएको रकम जनताको काममा खर्च गर्नुको साटो मुख्यमन्त्री तथा अन्य मन्त्रीहरूका आफन्तको स्मृति कोषको लागि विनियोजन गरि सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यार्थीहरू आक्रोशित भएका छन् ।
गण्डकी प्रदेश सरकारले गरेको जनविरोधी कामको विरोध स्वरूप जनस्तरबाट १ रुपैयाँ संकलन गरि पठाउने अभियान थालेको अनेरास्ववियूका केन्द्रीय सविचवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास विश्वकर्माले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदी, लगायत स्थानीयहरूले रकम दान गरेका छन् । अखिलका जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुले स्थानीयसमक्ष दानको अनुरोध गरेका थिए । मुख्य मन्त्री, तथा अन्य मन्त्रीको फोटो टाँसिएको दान पेटिका बनाएर रकम सहयोग मागिएको हो ।
गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका स्वर्गीय पीता गोवद्र्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख, शिक्षा, संस्कृति तथा विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय मातापीताको नाममा ट्रस्ट बनाउन १ करोड रुपैयाँ लगायतका लागि रकम विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्