
परासी । भन्सार छलेर लैजाँदै गरेको करिब १३ लाख रुपैयाँ बराबरको चिनीलाई पूर्वी नवलपरासी (नवलपुर) प्रहरीले बरामद गरेको छ ।
ट्रकमा लोड गरी तस्करी गरेर लैजाँदै गरेको चिनीलाई प्रहरीले सोमबार अरुणखोलाबाट बरामद गरेको हो । यो चिनी पश्चिम नवलपरासीको सीमा नाकाबाट तस्करी गरी चितवन पु¥याउन लागिएको प्रहरीले जनाएको छ ।
लु २ ख ६३७ नं को ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको ४ सय १८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी नायब उपरीक्षक(डिएसपी) सन्तोष पाठकले जानकारी दिनुभयो ।
त्यसैगरी भन्सार छलेर ल्याउँदै गरेको १ हजार ९ सय १७ पिस सर्टलगायतका कपडासमेत बरामद भएको छ । बरामद चिनी, ट्रक र लत्ता कपडाको कुल मूल्य ५४ लाख ३६ हजार कायम गरेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको डिएसपी पाठकले बताउनुभयो ।
केही दिनअघि पनि पश्चिम नवलपरासीबाट लैजाँदै गरेको २ ट्रक चिनीलाई पूर्वी नवलपरासी प्रहरीले बरामद गरेको थियो । चिनी र कपडाको तस्करी बढेको गुनासो आएपछि आइतबार मात्र पश्चिम नवलपरासी प्रहरीले १ ट्रक चिनी बरामद गरेको थियो ।
परासीको सीमा नाकाबाट दैनिक १० देखि १२ ट्रक चिनी र ठूलो मात्रामा कपडा तथा खसीबोका अवैध रूपमा चितवन, हेटौंडा, पोखरालगायतका प्रमुख शहरहरूमा जाने गरेको गुनासो बढेपछि गस्तीलाई बढाएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ । यद्यपि, तस्करी भने रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्