२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


श्रीलंकामा सीमित मात्रामा ग्याँस र इन्धनको बिक्री सुरू


234
Shares

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रीरहेको श्रीलंकाको केही भागमा सीमित मात्रामा ग्याँस र इन्धनको आपूर्ति सुरू गरिएको छ ।

राजधानी कोलाेम्बोका फिलिंग स्टेसन र सामुदायीक केन्द्रहरूमा ग्याँस र इन्धनका लागि हजारौँ स्थानीय बासीन्दाको लामो लाइन लागेको छ । महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामाग्री नपाएका जनतालाई पछिल्लो आपूर्तिले ठूलो राहत प्रदान गरेको छ । श्रीलंकामा अनियन्त्रित मुद्रा अवमूल्यनका कारण बजार भाउ अचाक्ली बढ्नुका साथै मुलुकको विदेशी मुद्रा सञ्चिति समाप्त हुन पुगेको थियो । जसले गर्दा मुलुकलाई खाद्यान्न, इन्धन र औषधि आयात गर्न धौधौ परिरहेको थियो ।

शनिबार हजारौँ आक्रोशित जनता राष्ट्रपति गोताबाया राजपक्षेको सरकारी निवासमा प्रवेश गरेका थिए । अहिले जनतालाई टोकन प्रणालीबाट सीमित परिमाणमा ग्याँस र पेट्रोल वितरण गर्न थालेको छ । राष्ट्रपति निवास कब्जा गरी बसेको केही सर्वसाधारण फिर्ता भएका छन् भने केही राष्ट्रपतिको राजीनामापछि मात्रै फिर्ता हुने अडानमा रहेका छन् ।

यसैबीच, यहि जुलाई २० का दिन श्रीलंकामा नयाँ राष्ट्रपति चयन गरिने भएको छ । त्यहाँका सभामुख महिन्दा यापा अवेबर्दनाले ३५ वटा दलका प्रतिनिधिहरूसँगको छलफलमा उक्त प्रस्ताव गर्नुभएको हो । जुलाई १५ मा संसद बैठक डाकिएकाले जुलाई १९ मा नयाँ राष्ट्रपतिको मनोनयन दर्ता गर्ने र जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गर्ने प्रस्ताव सभामुखको रहेको छ ।

जुलाई १३ मा पदत्याग गर्ने घोषणामा वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षे सहमत भएकाले नयाँ राष्ट्रपति चयन प्रक्रिया अघि बढाउन लागिएको हो ।