
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभामा धेरै विधेयकहरु अड्किएर बसेकाले विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले संसदमा अड्किएर रहेका तथा विचाराधिन विधेयकहरुलाई हेर्ने गरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारको वेवास्ताका कारण संसदमा विधेयक र कानूनहरु अलपत्र परेको भन्दै सो समितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनैपनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झक्झकाउने काम गर्नसक्ने उल्लेख गर्नुभयो ।
सांसद दाहालले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेकोप्रति विरोध जनाउनुभयो । विगतमा केपी ओली नेतृत्वको सरकारले जे कुरा ल्याएको थियो विधेयकमा सोही कुरा ल्याएको भन्दै उहाँले सरकारले जे कुराको विरोध गरेको हो सोही कुरा ल्याएको बताउनुभयो ।
उहाँले सो विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनुपूर्व सभामुखको धारणा पुरानै हो कि फेरिएको हो सोध्नुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकारसँग नैतिकता नरहेको बताउनुभयो । सांसद दाहालले शुन्य समय र विशेष समयमा प्रस्तुत विषयहरुको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि मन्त्रीहरुले जवाफ नदिने गरेको बताउनुभयो । उहाँले जवाफ नदिने मन्त्रीहरुलाई नियमावलीको व्यवस्था अनुरुप मुद्दा हाल्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्