८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राहत हैन रोजगार देउ


0
Shares

-प्रकाश मैनाली 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका संक्रमणका कारण पछिल्लो समय विश्वका अधिकांस देशका कामदारले रोजगारी गुमाएका छन् । नेपाल पनि यसबाट अछुतो छैन । भारतमा आश्रित मात्र होइन खाडी र युरोप अमेरिका रहेका हजारौं नेपालीको रोजगार गुमेको छ । संक्रमण फैलिनु अघि नै नेपालमा मात्र वास्तविक बेरोजगारको संख्या नौं लाखको हाराहारीमा रहेपनि अब भने तेब्बर बढेर गएको छ । केन्द्रिय तथ्याकं विभागको तथ्याकंलाई आधार मान्ने हो भने केही महिना अघि नेपालमा बेरोजगारीको दर ११ दशमलव ४ प्रतिशत मात्र रहेपनि अब भने रोजगार गुमाएकाहरुको संख्या अत्याधिक भएको छ ।

यतिबेला महामारीलाई मध्य नजर राख्दै सरका र विभिन्न संघसंस्थाले राहतको नाममा खाद्यान्न लगायतको राहत सामग्री बितरण गरिरहेकाछन् । यस्ता राहतले श्रमिकलाई क्षणिक रुपमा सहयोग पुर्‍याए पनि दिर्घकालिन रुपमा यसले मान्छेलाई निष्क्रिय बनाँउछ । राहतका नाममा दिने पैसाले रोजगारी तय गरेमा श्रमिकले काम सँगसँगै माम समेत पाउने पक्का छ । त्यसैले, राहत हैन रोजगारी दिन आवश्यक छ । रोजगारले मानिसलाई आर्थिक रुपमा सबल बनाउन मद्धत पुर्‍याउँछ । जब मानिस आर्थिक रुपमा सबल हुन्छ तब मानिस सबै क्षेत्रमा आफूलाई अब्बल बनाउन सक्षम हुन्छ । जब आफूले आफूलाई आर्थिक रुपमा सक्षम भएको अनुभब हुन्छ तब मानसिक तनाव कम हुने देखिन्छ । मानसिक तनाव कम भएको बेला बिभिन किसिमको नयाँ कामको रचना गर्न सकिन्छ ।

नयाँ किसिमको केही रचनात्मक कमम गर्न सकेमा समाजको बिकास हुने निश्चित छ । यस्तो समयमा मानसिक अवस्था सबल बनाउन उत्तिकै आवश्यक छ । जति वातावरण, आर्थिक ,सामाजिक अवस्था सफा राख्न आवश्यक छ त्यतिनै मानसिक तनावरहित हुन आवश्यक छ । मानसिक तनाव कम हुँदा मानिसले धेरै र रचनात्मक ढंंगले काम गर्न सक्ने देखिन्छ । मानिस जति व्यस्त रहन्छन् त्यतिनै मानसिक रुपमा स्वस्थ रहन्छन् भन्ने मान्यता रहेको छ । कोरोना कहरको यस अवस्थामा मानसिक रुपमा स्वस्थ रहन समेत व्यस्त रहन आवश्यक छ ।

यस्तो समयमा राहतले मानिसलाई निष्क्रिय बनाउँछ । अल्छे बनाउँछ र परनिर्भर हुन सिकाउँछ । त्यसैले विकास सँगसँगै रोजगारी समेत सुरक्षित हुने तवरबाट राहत प्याकेज घोषणा गर्न आवश्यक देखिन्छ । त्यसका लागि स्थानीय तहले खाद्यान्न वितरण गर्न छुट्याइएको रकमले आफ्नो पालिका भित्रको बाटो बनाउने, सार्वजनिक स्थलमा विश्राम गर्ने ठाँउ निर्माण, ऐतिहासिक एवम् पुरातात्विक स्थलको जिर्णोदार गर्ने, कुलो खन्ने, कृषि क्षेत्रमा काम लगाउने, युवालाई सीप सिकाउने, सीपमुलक जागिरको सिर्जना गर्ते तथा सार्वजनिक एवम् खाली आफनो वन क्षेत्रमा वृक्षारोपण लगायतको काममा लगाउन सके एकतर्फ विकास र अर्कोतर्फ मानसिक अवस्था पनि ठिक हुने देखिन्छ ।

यस समयमा विभिन्न तथ्याङ्कले महिलाहरु विभिन्न किसिमको यौन हिंसामा परेको कुरा समेत बाहिरी रहेको छ । समय परिस्थिति र रोजगारीका कारण यस्ता हिंसालाइ समेत हटाउन मदत पुग्ने देखिन्छ । जब घर परिवारमा यस्ता किसिमको हिंसा हुन्छ तव परिवारमा चिडचिडापन सुरु हुन्छ । यस्तो चिडचिडापन धेरै दिनसम्म घर परिवारमा रहेमा घर परिवारमा कलह समेत निम्त्याउने गर्दछ । यस्तो अवस्थामा राहत भन्दा रोजगारले काम गर्ने देखिन्छ ।

मानसिक र सामाजिक रुपमा स्वस्थ राख्न समेत रोजगारीको महत्वपूर्ण भूमिका हुन्छ । बेरोजगार भएको अवस्थामा सामाजिक कलह समेत हुने देखिन्छ । भनिन्छ नि ,‘खाली दिमाग शैतानको घर’ यस भनाइलाइ मनन गर्ने हो भने पनि काम नहुुँदा र खाली रहँदा समाजमा विभिन्न किसिमको विकृति भित्रने गरेको हामीले देखेको नै छौँ । समाजमा स साना निहुँमा झैँझगडा हुने गर्दछ । जसले गर्दा समाजमा विभिन्न विकृति उत्पन्न हुन्छ । यो समस्याको न्यूनिकरण गर्न समेत रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । मानव स्वभाव न हो जवसम्म हातमुख जोड्न पुग्दछ त्यस बेलासम्म यि समस्याको विषयमा ध्यान दिदैँनौ ।

कोरोना कहर कति समयसम्म रहने हो भन्ने अहिले नै भन्न सकिने अवस्था छैन् । यस्तो अवस्थामा राहतकै भरमा कहिलेसम्म नागरिकलाई पाल्न सकिन्छ । पहिले यस विषयमा तिनै तहका सरकारले सोच्न आवश्यक छ । दिर्घकालिन सावधानीको उपाय समेत ल्याउन आवश्यक छ । लामो समयसम्म राहतले नागरिक पाल्न गारो हुन्छ । यस्तोे अवस्थामा देश विकास सँगसँगै रोजगारी समेत हुने किसिमको योजना ल्याउन आवश्यक छ । जसले गर्दा हात मुख जोड्ने समस्याको समाधान हुनुको साथै देश विकास समेत हुने किसिमको योजना तिनै तहका सरकारले ल्याउन आवश्यक छ । यस परिस्थितिमा रोजगारीको नाममा धेरै भिडभाड हुने खालको काम समेत हुन दिनु हुँदैन । किनकी कोरोनाको जोखिम झन बढाउँछ । यस अवस्थामा काम लगाउँदा सामाजिक दुरी कायम राख्नमा मुख्य ध्यान दिन आवश्यक छ भने सुरक्षित रुपमा कामदारलाई राख्न सेनेटाइजर तथा माक्स लगायतको व्यवस्था समेत रोजगारदाता संगठनले गर्नुपर्छ र आवश्यक पनि छ । हो भने आफूँ ताक्छु मुडो ,बन्चरो ताक्छ घुडो भनेझैँ नहोला भन्न सकिन्न । यसलाइै मध्य नजर गरेर काम लगाउन आवश्यक देखिन्छ ।