
काठमाडौं । नेपाल चिकित्सक संघले संसदबाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा स्वागत गरेको छ ।
नेपाल चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन गरेर बुधबार प्रतिनिधिसभाले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पारित गरेकोमा स्वागत गरिएको जानकारी दिएको हो ।
विधेयक पारित भएसँगै चिकित्सकहरूलाई अमर्यादित व्यवहार रोकिने र चिकित्सकहरूको सुरक्षा हुने विश्वास संघले व्यक्त गरेको छ ।
पारित भएको विधेयकमा कसैले स्वास्थ्य संस्थामा आगजनी गरेमा नीजलाई पुर्पक्षको लागि थुनामा राखी २ वर्षदेखि पाँच वर्ष कैद वा २ देखि ५ लाख रुपैयाँ सम्म जरीबाना र दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
त्यस्तैगरी स्वास्थ्य संस्थामा तोडफोड गरी हानी नोक्सानी पुर्याएमा र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखि ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
यो व्यवस्था गर्नका लागि आफूहरूले निकै मिहेनत गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभयो । यस किसिमको व्यवस्था गरिएको विधेयक पारित हुनु चिकित्सा शिक्षाका लागि ऐतिहासिक उपलब्धी भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्