
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलनको समय थप गर्न माग गरेको छ ।
योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उक्त पार्टीले संकलन समय थप गर्न माग गरेको हो । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले उक्त माग गरेको हो ।
शुक्रबार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर पन्थीलाई ज्ञापनपत्र बुझाँउदै जनमत पार्टीले अहिले पनि जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावलीमा नाम समावेश गराउनेहरूको भीड बढिरहेको जनाएको छ ।
साथै जनमत पार्टीले पालिकास्तरमा पुगेर फोटो सहितको मतदाता नामावली संकलन गर्न माग गरेको नेता बीपी साहले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा प्रचारप्रसार नहुँदा धेरै योग्य नागरिकहरूलाई मतदाता नामावलीमा नाम संकलनबारे जानकारी नभएकोले स्थानीय स्तरमा प्रचारप्रसार गर्न पार्टीले माग गरेको छ ।
प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअघि मतदाता नामावली संकलन भइरहेको छ । असार मसान्तसम्म मात्र नाम संकलन हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्