
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भ्रमण गरेको बताउनुभएको छ ।
शनिबार भारतकाे नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताउनुभयो ।
करिव ३ महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयाे । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै उहाँले नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउन आफ्नो प्रयास हुने स्पष्ट पार्नुभयो ।
‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो, दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन, समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो ।’
अध्यक्ष प्रचण्ड शुक्रवार दिउँसो भारत प्रस्थान गर्नुभएको थियो । दाहालले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नुहुनेछ । शनिबार बिहान अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गर्नुभएको छ ।
अध्यक्ष दाहाल शुक्रबार दिउँसो भारत प्रस्थान गर्नुभएको थियो । दाहालले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नुहुनेछ । शनिबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गर्नुभएको छ ।
अध्यक्ष दाहालले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्