१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराका प्याराग्लाइडिङ व्यवसायी चिन्तित


364
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुनेमा व्यवसायी चिन्तित भएका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ल्याउन सक्रिय व्यवसायी अहिले त्यही विमानस्थलका कारण झण्डै डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् ।

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । जसका लागि प्याराग्लाइडिङलाई विकल्प खोजेर पोखराबाट सार्न निर्देशन दिइसकेको छ ।

व्यवसायीले भने पोखराको आकाशबाट विस्थापन नगरी आफूहरूको व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले सरकारले चाहेमा समय मिलाएर पोखराकै आकाशमा प्याराग्लाइडिङ उडाउन मिल्ने दाबी गर्नुभयो । प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेरै भए पनि सञ्चालन गर्न दिनुपर्ने उहाँको भनाइ छ ।

पोखराको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनभित्र पर्ने र साहसिक पर्यटकको लागि उपयुक्त गन्तव्य भएको व्यवसायीहरू बताउँछन् । विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोर्टस’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर अनुशरण गर्न सकिने व्यवसायीको भनाइ छ ।

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि व्यावसायिक रूपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका हुन् । अहिले पोखराका ६० कम्पनीमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ । करिब २ हजारले रोजगारी पाएका दाबी व्यवसायीको छ ।

यो व्यवसायमा करिब ३ सय ७५ पाइलट छन् । प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र एउटा हटाएर बेलुन कम्पनी सञ्चालनमा छन् ।