१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस केन्द्रीय कमिटीमा सरकार र पार्टी सञ्चालनप्रति नेतृत्वको तीव्र आलोचना


143
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सरकार र पार्टी सञ्चालनको कार्यशैलीप्रति तीव्र आलोचना भएको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकका वक्ताहरूले पनि सरकारले जनपक्षीय काम गर्न नसकेको र पार्टीसभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै आलोचना गरेका छन् ।

बैठकमा संस्थापनइतर समूहका पदाधिकारी र सदस्यहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् भने संस्थापन समूहका नेताहरूले बचाउ गरेका छन् ।

शनिबार बसेको बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र तरुण दलका तदर्थ समिति गठन गर्दा इतर समूहका नेता शेखर कोइरालासँग छलफल नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सहमहामन्त्रीद्वय पाण्डे र परियारले पार्टीलाई एकढिक्का बनाउनुको सट्टा झन् विभक्त हुनेगरी सञ्चालन गरिरहेको तथा इतर समूहको अस्तित्व स्वीकार नगरेको आरोप लगाउनुभएको छ ।

केन्द्रीय समिति बैठकमा बोल्दै गृहमन्त्री समेत रहनुभएका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारको हतियार किन्ने योजना नरहेको स्पष्टिकरण दिनुभयो ।

हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया भए पनि हाल हतियार किन्ने पैसा नै नभएको बताउनुभयो । मुलुकको आर्थिक अवस्थाको कारण तत्काल हतियार किन्ने प्रक्रिया अघि नबढ्ने खाँणको दाबी छ ।

बैठकमा आपूर्तिमन्त्री समेत रहनुभएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र सोही कारण नेपालमा पनि अझै मूल्य बढाउनुपर्ने बाध्यता रहेको जिकिर गर्नुभयो ।

गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र मन्त्रीहरूले पालो सकिएसँगै आजदेखि पदाधिकारीको सुरु भएको छ । आजको बैठकमा सहमहामन्त्रीहरूले बोल्ने क्रम थालेका छन् ।