१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागे : सांसद देव


351
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको हो ।

सांसद देवले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाल कुनै पनि शक्ति राष्ट्रको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवले नेपालको कुनैपनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरूले भन्न सक्नुपर्ने बताउनुभयो ।

सांसद देवले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी–पार्टी बीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गर्नुभयो ।

देवले देशको भू–राजनीतिक अवस्था अनुसार छिमेकी देशहरूसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभइ पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताउनुभयो ।