
काठमाडौं । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि मुस्ताङमा हवाई सेवा नियमित हुन सकेको छैन ।
विमान दुर्घटनापछि असार मसान्तसम्मको डेढ महिनामा जम्मा ९ पटक उडान भएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।
समिट एयरले जेठ २१ गते ५ उडान र असार ७ गते ४ वटा उडान मात्रै गरेको हो । तारा एयरले पोखरा–जोमसोम रूटको उडान तालिका नै हटाएको छ ।
पोखरा–जोमसोम रूटमा व्यस्त सीजनमा दैनिक १५ देखि १८ वटासम्म उडान हुँदै आएको थियो भने अफ सीजनमा पनि दैनिक एक दुई उडान नियमित हुने गर्दथ्यो ।
तर, तारा एयरको विमान दुर्घटना भएपछि भने पोखरा–जोमसोम रूटमा उडानै हुन छाडेको भन्दै मुस्ताङका पर्यटन व्यवसायीहरू चिन्तित बनेका छन् ।
यता, जोमसोमस्थित नागरिक उड्डयन कार्यालयले भने प्रतिकूल मौसम र अफ सीजन भएका कारण उडान नियमित नभएको दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्