६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आन्तरिक राजस्व कार्यालय पोखराबाट ४ अर्ब ८८ करोड राजस्व संकलन


104
Shares

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक अर्थात् ९६ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा भने ४ अर्ब ४० करोड मात्र राजस्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजस्व संकलन भएको कार्यालय प्रमुख रमेश शर्माले जानकारी दिनुभयो ।

उहाँले मूल्य अभिवृद्धि कर भने लक्ष्य अनुसार संकलन हुन नसकेको बताउनुभयो । कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लय नलिनु र स्थानीय सरकारले प्रदेश सरकारले बजेट पूर्ण रूपमा खर्च नगरेकोले मूल्य अभिवृद्धि कर कम भएको बताउनुभयो ।

साथै अन्तशुल्कको आधार पनि निकै कमजोर रहेकोले कम संकलन भएको हो । राजस्व संकलन वृद्धिदरअनुसार कमै भए पनि यो रकम सन्तोषजनक नै मान्नुपर्ने उहाँको भनाइ छ । कोरोनाले पर्यटन व्यवसाय तङ्ग्रिन नसकेकोले लक्ष्य हासिल हुन नसेकेको कार्यालय प्रमुख शर्माले स्वीकार गर्नुभयो ।

आन्तरिक राजस्व कार्यालय पोखरामा हाल करदाता १ लाख ७५ हजार छन् । तीमध्ये ६१ हजार भ्याटमा छन् । फर्म दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेकाले उहाँले करको दायरामा आउन आग्रह गर्नुभयो ।

कार्यालयले पनि बेला–बेलामा करदाता शिक्षा र बजार अनुगमन गर्दै आएको उहाँको भनाइ छ । करको दायरा वृद्धि गर्दै कर छल्ने प्रवृत्ति र चुहावट घटाउनेतर्फ पनि कार्यालय लागिपरेको प्रमुख शर्माले बताउनुभयो ।

यसैबीच, पछिल्लो ३ वर्षको राजस्व नबुझाएका फर्मलाई आगामी पुस मसान्तसम्म आए दर्ता भई पान लिन सक्ने सुविधा दिइएको जानकारी दिनुभयो । विगतमा गण्डकीका विभिन्न जिल्लाको राजश्व प्रदेश राजधानी पोखरामै हुने गरेकोमा अहिले स्याङ्जा, बागलुङ, तनहुँ र नवलपुरबाट समेत राजस्व संकलन गरिन्छ ।