
काठमाडौं । नेकपा (एमाले)का सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैं पाल्नुपरेको बताउनुभएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद धामीले सुदूपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाएपनि सुदूरपश्चिमका लागि केही नगरेको बताउनुभयो ।
सांसद धामीले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिएपनि भोट बालुवामा पानी हाले बराबर भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिनुभयो ।
‘पाँच पटक प्रधानमन्त्री हुँदा तपाईंले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी, अविष्मरणीय योगदानहरु के–के गर्नुभयो ? कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के हुन् ?’ उहाँले प्रश्न गर्नुभयो, ‘सुदूपश्चिमका जनता जान्न चाहन्छन् प्रधानमन्त्रीज्यू कुनै जवाफ छ ? खालि थारो भैंसी पालेझैं ३१ वर्षदेखि सुदूरपश्चिमका जनताले तपाईंलाई निरन्तर भोट दिएर बालुवामा पानी हालेका हुन् ?’
सांसद धामीले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गर्नुभयो ।
सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने टिप्पणी गर्नुभयो ।
कलेज स्थापना गर्न नसके देउवा दश पटक प्रधानमन्त्री भए पनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैं हुने उहाँको भनाइ छ । उहाँले कलेज स्थापना गर्न नसके देउवालाई सुदूरपश्चिमका जनताले धोकेवाज र विश्वासघाती भन्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्