
काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।
बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गर्नुभयो । महानगरभित्र तत्काल केही समस्या पर्दा तत्काल पुग्न बाइक खरिद गरिएको उहाँले बताउनुभयो ।
प्रमुख महर्जनले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्व राख्ने भएकोले सानो काम भए पनि महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । पाटन शहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको बताउनुभयो ।
प्रमुख महर्जनले महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको बताउनुभयो । उहाँले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्