
एजेन्सी । भारतको १५औं राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु गरिएको छ ।
मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको छ । यही जुलाई १८ मा बिहान १० देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।
सत्तारूढ गठबन्धन एनडीएबाट द्रौपदी मुर्मु र विपक्षी दल त्रिणामुुल कांग्रेसबाट यशवंत सिन्हा प्रतिस्पर्धामा छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुर्मु विजयी हुने सम्भावना बलियो छ । उनी निर्वाचित भए देशको शीर्ष संवैधानिक पदमा पुग्ने पहिलो आदिवासी महिला हुनेछिन् ।
यता, भारतीय जनता पार्टी (भाजपा)ले अभिनन्दन यात्रा गर्दैछ । राष्ट्रिय राजधानीमा एक रोड शो अभिनन्दन यात्रा गर्न लागिएको हो ।
जसमा राष्ट्रपति पदका उमेदवार मुर्मुको सम्भावित विजयको उत्सव मनाउन लागिएको हो । मुर्मुको जन्मथलो ओडिसाको अपरबेडा गाउँमा पनि विजयोत्सव मनाउने तयारी छ ।
निर्वाचन आयोगका अनुसार गएको सोमबार भएको मतदानमा कुल मतदातामध्ये ९९ प्रतिशतभन्दा बढीले आफ्नो मत खसालेका थिए । भाजपाका सांसद सन्नी देओल र सञ्जय धोत्रेलगायत आठ सांसद भने मतदानमा सहभागी भएनन् ।.
प्रतिक्रिया दिनुहोस्