
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । शुक्रबार नै उक्त विधेयक अनुमोदनका लागि पेश गर्ने कार्यसूची पनि रहेको छ ।
नागरिकता संशोधन विधेयकलाई राज्य ब्यवस्था समितिमा छलफलका लागि नपठाई पारित गराउने तयारीमा सरकार रहेको बुझिएको छ ।
अघिल्लो सरकारले ल्याएको नागरिकता संशोधन विधेयक साढे तीन वर्षसम्म संसदमा विचाराधीन रहेपछि गत महिना सरकारले फिर्ता लिएर नयाँ विधेयक पेश गरेको हो ।
शुक्रबारको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरी पारित गर्ने तयारी रहेको पनि संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्