
काठमाडौं । रुस र युक्रेनबीच खाद्यान्नको निर्यात खुलाउनेबारे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुबै पक्ष खाद्यान्न निर्यात खुलाउन सहमत भएका हुन् । तर सिधा युद्धमा रहेका रुस र युक्रेनले सम्झौतामा हस्ताक्षर गर्दा एउटै टेबलमा भने बसेनन् ।
सम्झौतामा पहिला रुसका रक्षामन्त्री सर्गेई सोयुगुले हस्ताक्षर गरे । त्यसपछि अलग्गै टेबलमा युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब युक्रेनी बन्दरगाहमा रोकिएको हजारौं टन खाद्यान्न कृष्ण सागर हुँदै विश्व बजारमा निर्यात हुनेछ । यो सम्झौता १ सय २० दिनसम्म लागू हुनेछ । दुई पक्षले चाहेको अवस्थामा सम्झौता लम्बिन सक्नेछ ।
सम्झौता कार्यान्यवनको सहजिकरणको लागि टर्कीको इस्तानबुलमा एउटा संयुक्त कार्यालय पनि स्थापना गरिनेछ । उक्त कार्यालयमा संयुक्त राष्ट्रसंघ, टर्की, रुस र युक्रेनका कर्मचारीहरू रहनेछन् ।
गत फेब्रुअरी २४ देखि युद्धमा रहेका रुस र युक्रेनबीचको पछिल्लो सम्झौता युद्ध अन्त्यको बाटोमा एउटा महत्वपूर्ण सुरूवात हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्