
काठमाडौं । पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका पुरुषले महिलाको पोशाक लगाउने र महिलाले पुरुषको पाशाक लगाएर गाइया बेहेर्न अर्थात गाई छेक्ने चलन छ ।
देवतालाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् ।
त्यस्तै, पश्चिम तराईका थारु समुदायले पनि बर्खा लगाउनका लागि पानी नपरेपछि अनेक खालका पूजा गर्ने गरेका छन् । यो वर्ष असार महिनाभर पानी नपरेपछि थारुहरुले पुर्खौंबाट चल्दै आएको गाईया बेहेर्ने अर्थात गाई छेक्ने चलन अपनाएका हुन् ।
महिलाहरुले पुरुषहरुको पोशाक लगाउने र पुरुषहरुले महिलाको पोशाक लगाएर आफ्नो छिमेकी गाँउमा गई गोरु भैँसी बन्धक बनाएर ल्याउने र त्यस गाँउका मानिसहरुले आफ्नो बन्धक बनेका गोरु भैँसी छुटाउन आएपछि आफ्नो मौलिक भाषामा गीत गाएर छुटाउने परम्परा रहेको बैजनाथ गाँउपालिका–६ पेडारीका सुनिता थारुले बताउनुभयो ।
उहाँले पानी नपरेका कारण यस्तो पुरानो संस्कृति र प्रचलन अपनाइएको बताउनुभयो । पहिलाको समयमा धानको बीउ छर्ने बित्तिकै गाईया बेहेर्ने अर्थात गाई छेक्ने परम्परा सुरू हुन्थ्यो । तर अहिलेको समयमा अन्तिम विकल्प नभएपछि यो परम्परागत प्रचलनमा इन्द्र देवलाई पूजा गर्ने गरेको राप्ती सोनारी गाँउपालिका–४ का फट्टु थारुले बताउनुभयो ।
उहाँले आफ्नो थारु संस्कृति अनुसार गीति गाएर पूजा गर्ने प्रचलनका बारेमा गीतमा नै जानकारी दिनुभयो । महिलाले पुरुको पोशकक र पुरुषले महिलाको पोशाक लगाउँदा इन्द्रदेव प्रशन्न भएको बैजनाथ गाँउपालिका–६ पेडारीका मइती थारुले पनि आफ्ना गीतमा नै समेट्नुभयो ।
यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र पानी पर्ने गरेको र उत्पादन पनि राम्रो हुने गरेको विश्वास राख्छन् ।
प्रतिक्रिया दिनुहोस्