
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरूमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताउनुभयो ।
सांसद भट्टराईले सरकारले कुनै पनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसुचित गर्न चासो नदिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद् भएको बताउनुभयो ।
सांसद भट्टराईले मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सिमानाहरूमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताउनुभयो ।
उहाँले छिमेकी देश भारतमा ४ जनामा मंकीपग्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताउनुभयो ।
सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न भएको बताउनुभयो ।
उहाँले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउनेपानीका मुहान र सप्लाई गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्